भारतको कर्नाटक राज्यको एक संरक्षित जङ्गलमा एक लोपोन्मुख बघिनी र उसका चार बच्चा मृत भेटिएको घटनापछि भारतले औपचारिक अनुसन्धान सुरु गरेको छ। वन्यजन्तुको यस प्रकारको ‘अप्राकृतिक मृत्यु’ले गम्भीर चिन्ता सिर्जना गरेको छ।
कर्नाटक राज्यका वनमन्त्री ईश्वर खान्द्रेका अनुसार घटनाको कारण पत्ता लगाउन विशेष छानबिन टोली गठन गरिएको छ। उनले घटनालाई “अत्यन्त दुःखद र पीडादायी” भनेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, वन अधिकारीहरूले विषाक्त पदार्थ सेवनका कारण बघिनी र उसका बच्चाहरूको मृत्यु भएको आशंका व्यक्त गरेका छन्। द टाइम्स अफ इन्डियाका अनुसार केही दिनअघि ती बघिनीले एउटा गाई मारेकी थिइन्, त्यसको बदलामा कसैले गाईको शवमा विष मिसाएर राखेको हुनसक्ने अनुमान गरिएको छ।
मन्त्री खान्द्रेका अनुसार घटनामा कुनै लापरबाही भएको हो वा नियोजित रुपमा बाघ मारेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ, र दोषी पत्ता लागे कडा कानुनी कारबाही गरिने बताएका छन्।
भारतमा पछिल्ला वर्षहरूमा बाघ संरक्षणमा उल्लेखनीय प्रगति भएको छ। पछिल्लो तथ्यांकअनुसार देशभर ३६०० भन्दा बढी बाघ छन्, जुन विश्वभरको कुल बाघ संख्याको करिब ७५ प्रतिशत हो।
तर, मानवीय बस्तीको विस्तार र वन क्षेत्र अतिक्रमणले बाघहरूको आवास क्षेत्रमा असर पारेको देखिन्छ। पछिल्लो एक दशकमा मात्रै बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएको सरकारी तथ्याङ्कले देखाएको छ।
