रुकुम पश्चिममा एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री रहेका छन्, जो माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश समितिका सदस्य समेत हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, १८ जेठमा किशोरीले खत्रीविरुद्ध जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। उजुरीपछि खत्री फरार रहेका थिए।
प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार, खत्री सानोभेरी गाउँपालिकामा लुकेर बसेको जानकारी पाएपछि पक्राउ गरिएको हो। “पक्राउपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ,” विष्टले जानकारी दिए।
पीडित किशोरीले हालसालै एक शिशुलाई जन्म दिएकी छिन्। यस विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
