काठमाडौँको बुद्धनगरस्थित सुवर्ण मार्गमा रहेको ‘कडक चिया क्याफे’मा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। वडानम्बर १० मा पर्ने उक्त क्याफेमा अवैध संरचना निर्माण भएको र त्यहाँ हुने गतिविधिबाट स्थानीय त्रसित बनेपछि कारबाही गरिएको हो।
स्थानीयको भनाइअनुसार क्याफेमा विगतदेखि नै दिनदहाडै मादक पदार्थ सेवन, होहल्ला र झगडाका घटना भइरहँदा पनि बेवास्ता हुँदै आएको थियो। विशेषतः असार १० गते युवाहरूको झगडाले हिंसात्मक रूप लिएपछि प्रहरी बोलाएर नियन्त्रणमा लिनुपरेको अवस्था देखिएको थियो।
स्थानीयबासीले बारम्बार शान्ति सुरक्षा कायम गर्न अनुरोध गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि वडा अध्यक्ष रामकुमार केसीले नगर प्रहरीको पूर्वी क्षेत्र कमान्डसँग समन्वय गरी उक्त क्याफेमा अवैध निर्माणको अनुसन्धान गराएका थिए।
नगर प्रहरीले सञ्चालन अनुमति र नक्सा स्वीकृति विना बनाइएको अस्थायी संरचना पाइएको भन्दै उक्त स्थानमा डोजर चलाएको हो। नगर प्रहरी पूर्वी क्षेत्रका प्रमुख एसपी दिनेश अर्यालका अनुसार, त्यहाँ चिया, चुरोट र रक्सी सेवनका गतिविधि भइरहेकाले स्थानीय आतङ्कित भएका थिए।
उनले भने, “संरचना भव्य थिएन तर जस्ताले छाएर बनाइएको अस्थायी संरचना थियो, जहाँ युवायुवतीको भीड लाग्थ्यो। अशान्त वातावरण सिर्जना भइरहेको पाइएपछि हामीले कारबाहीस्वरूप संरचना हटाएका हौं।”
