पतंजलीसँग सम्बन्धित विवादास्पद जग्गा किनबेच प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतले बुधबार साँझ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले बबरमहलस्थित अदालत परिसरबाट बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर राति अदालत छाडेका हुन्।
आयोगले नेपालमाथि प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्बाट गरिएका निर्णयमार्फत पतंजली कम्पनीलाई कानुनी सिमा नाघेर जग्गा किनबेच गर्न अनुमति दिएको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।
न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपालको हैसियत, जिम्मेवारी र आरोपको प्रकृति हेरेर सामान्य म्यादमा नछोडी ३५ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।
नेपाललाई साउन १३ गते पुनः अदालतमा उपस्थित हुन बोलाइएको छ। उनले अदालत छाड्दाखेरी पत्रकारहरूसँग कुनै प्रतिक्रिया दिएका छैनन्।
अदालतले आदेशमा उल्लेख गरेअनुसार, मन्त्रिपरिषद्को निर्णयले कानुनी सीमा नाघेर कम्पनीलाई जग्गा खरिद र गैर-उत्पादक उद्देश्यका लागि बिक्री गर्न दिएको विषय ‘नीतिगत निर्णय’ अन्तर्गत पर्छ कि पर्दैन भन्ने टुंगो अन्तिम फैसलाबाट लाग्नेछ।

