जनकपुरका चर्चित कलाकार अभिनास झा, जो ‘कलकतियाबाली’ नामले परिचित छन्, उनका पत्नी अँसा सदा आफ्नै कोठामा मृत भेटिएकी छन्। विवाह भएको मात्र ६ महिनामा यस्तो दुःखद घटनाले स्थानीय समुदायमा समेत चासो बढाएको छ।
धनुषा प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा अँसा सदा सोमबार राति सुटिङ सेट नजिकै रहेको आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको र अहिले सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार सुटिङ सेटमा प्रयोग भइरहेका सबै उपकरण (डिभाइस) अनुसन्धानका लागि नियन्त्रणमा लिइएका छन्। यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्युको कारण स्पष्ट भन्न नसकिने जनाइएको छ। तर प्रारम्भिक रुपमा यो घटनालाई शङ्कास्पद मानिएको छ।
अभिनास झा र अँसा सदा केही महिनाअघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेका थिए। उनीहरूले अन्तरजातीय विवाह गरेका थिए, जसलाई लिएर परिवार तथा समाजमा केही चर्चासमेत देखिएको थियो।
अहिले घटना रहस्यमय बनेको छ र स्थानीय तथा सामाजिक सञ्जालमा चासोको विषय बनेको छ। प्रहरी अनुसन्धानबाट घटनाको यथार्थ चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।
