प्रतिनिधि सभाको आइतबारको बैठक तीव्र विवादमा परिणत भयो, जब स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा दिन सकिने जस्तो अभिव्यक्ति दिए।
सांसद सिंहको टिप्पणीलाई आपत्तिजनक र राष्ट्रघाती ठहर गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। त्यसपछि सत्तापक्षका अन्य सांसदहरू समेत उठेर विरोधमा उत्रिए।
सभामुख देवराज घिमिरेले सांसद सिंहको अभिव्यक्तिलाई राष्ट्रहित विपरीत भन्दै ती शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। तर सिंहले त्यसप्रति असन्तोष जनाउँदै सभामुखमाथि एमालेको पक्षपात गरेको आरोप लगाए। उनले संसदमा बोल्न नदिइएको भन्दै बजेटमा भाग लिन नसक्ने जस्ता गुनासोसमेत राखे।
त्यसक्रममा सिंहले एमालेलाई राष्ट्रविरोधी भनेर आक्रोशपूर्ण टिप्पणी गरेपछि सत्तापक्षका सांसदहरू नाराबाजीमा उत्रिए। यसले गर्दा संसदको वातावरण केही समय तनाबपूर्ण बनेको थियो।

