गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन। लामो समयदेखि सडक बन्द हुँदा स्थानीयहरूलाई दैनिक जीवनमा कठिनाइ भएको छ।
कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत पर्ने हर्मीचौर–अर्बेनी सडक खण्डको गरगरे क्षेत्रमा सुक्खा पहिरो खसेपछि शुक्रवार अपराह्नदेखि सडक पूर्ण रूपमा अबरुद्ध भएको हो। सडक बन्द भएपछि पुर्तिघाट गाउँपालिका केन्द्र जाने तथा पुर्तिघाटबाट बुटवलतर्फ जाने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
यद्यपि पहिरो पन्छाउन तीन वटा डोजर तयारी अवस्थामा राखिएको भए पनि माथिबाट लगातार पहिरो खसिरहेकाले काममा बाधा पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी टोली घटनास्थलमा खटाइएको र वैकल्पिक रूपमा हर्मीचौर हुँदै देउराली र अर्बेनीकोटतर्फको बाटो प्रयोग गर्न सुझाव दिइएको बताए।
अध्यक्ष थापाका अनुसार, पहिरो झर्ने क्रम रोकिएको छैन, जसले गर्दा सडक आज (केलुकीसम्म) पनि खुल्ने सम्भावना न्यून देखिएको छ। स्थानीयवासी भने लामो समयसम्म सडक अबरुद्ध हुँदा अत्यन्तै समस्यामा परेका छन्।
