पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला सुरु गरिएको दैलेखको पेट्रोलियम अनुसन्धानको प्रगति देखेर खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विगत सम्झँदै दैलेखमा सम्भाव्यता अध्ययनबाट सुरु भएको ग्यास अन्वेषण अहिले सफलतापूर्वक अघि बढ्नु उत्साहजनक भएको जनाएका छन्।
चीनबाट आएको विज्ञ टोलीले दिएको प्रारम्भिक रिपोर्टअनुसार दैलेखको जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको छ। विज्ञहरूका अनुसार, यदि यो ग्यास व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने, नेपाललाई करिब ५० वर्षसम्म ऊर्जामा आत्मनिर्भर बनाउने सम्भावना रहेको छ।
२०७२ सालको चैत महिनामा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणमा सहकार्य गर्ने सरकारीस्तरको सम्झौता (जीटुजी) भएको थियो। त्यसपछि २०७५ माघमा चीनलाई दैलेखको पेट्रोलियम उत्खनन र विस्तृत अध्ययनको जिम्मेवारी दिइएको थियो।
शुक्रबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, “पेट्रोलियम अन्वेषण सुरु गरेका ती दिनहरू सम्झँदा विभिन्न प्रतिक्रिया थिए — समर्थन पनि, विरोध पनि। अहिले ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको खबरले ती सम्झनाहरू झल्झल्याएको छ। यो वास्तवमै खुसीको खबर हो।”
यो अन्वेषणले नेपालमा वैकल्पिक ऊर्जाको सम्भावना थप उज्यालो बनाएको भन्दै ओलीले आगामी दिनमा अझै ठोस परिणाम आउने आशा व्यक्त गरेका छन्।

