काठमाडौं, असार ३ – भिजिट भिसा काण्डको विरोधमा संसद अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैं अहिले अप्ठेरोमा परेको छ। प्रमुख दलहरूबीच दुई बुँदे सहमति भएपछि रास्वपाको एक्ला आन्दोलन दबाबमा परेको छ।
नेकपा माओवादी केन्द्र र सत्ता गठबन्धनबीच भएको सहमतिले माओवादी संसद सञ्चालनमा फर्किएपछि रास्वपा अलगिएको छ। आइतबार संसद बैठकमा रास्वपाका सांसदहरूले नाराबाजी गरे पनि सोमबारको बैठकमा माओवादी नेताहरू बोल्दा मौन बसे, भने अन्य दलका नेताहरूले बोल्दा मात्रै विरोध जारी राखे।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ठूला दलका नेताहरू र सभामुखले भिजिट भिसासम्बन्धी गम्भीर समस्याप्रति चासो नदेखाएको आरोप लगाए। ‘हामी नागरिकका समस्यालाई बोकेर संसदमा आएका छौं, तर हाम्रो आवाजलाई बेवास्ता गरियो’, उनले भने, ‘माओवादीसँग भएको सहमतिलाई हामी मान्दैनौं।’
उनले सभामुखसँग समस्या समाधानका लागि वैकल्पिक अधिकार भए पनि त्यो प्रयोग नगरिएको गुनासो पनि गरे। ‘सभामुखले सरकारलाई १५ दिनभित्र आवश्यक निर्णय गर्न निर्देशन दिन सक्थे, तर त्यस्तो कुनै प्रयास भएन,’ उनले बताए।
मंगलबारको बैठकमा आन्दोलनको रूप बदलिने वा नबदलिने भन्ने निर्णय बैठकअघि हुने र त्यसका लागि आन्तरिक छलफल चलिरहेको उनले जानकारी दिए। रास्वपाका एक सांसदका अनुसार लगातार नाराबाजी र भुईंमा बसेर विरोध गर्दा केही सांसदहरूमा शारीरिक समस्या देखा पर्न थालेको छ। ‘कसैको स्वर बस्न थालेको छ, कसैलाई पखालाको समस्या पनि देखिएको छ,’ ती सांसदले बताएका छन्।
