काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले विद्युत् तार भूमिगत गर्ने काम तीव्र रूपमा अघि बढाइरहेको छ। यस कार्यका क्रममा सडकको विभिन्न खण्डहरू खनिएका छन्, जसले पैदलयात्री र सवारीसाधन दुवैलाई दैनिक सास्ती थपेको छ।
हाल मित्रपार्कदेखि कालोपुलसम्मको सडक खण्डमा भूमिगत तार विस्तारको काम भइरहेको छ। तर निर्धारित समयमै काम नसकिँदा सडक अस्तव्यस्त बनेको छ।
यातायात अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या आइरहेको छ। ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल समाएर सडक खुलाउने प्रयास गरिरहेका छन्।
यस्ता निर्माण कार्यको प्रभावले सर्वसाधारणले असुविधा भोग्न नपरोस् भनेर सम्बन्धित निकायले पूर्वतयारीका साथ काम अगाडि बढाउनुपर्ने माग तीव्र बन्दै गएको छ।

