प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले आइतबारको बैठकपछि अर्को बैठकको समय घोषणा गरेका हुन्।
आइतबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा सम्बन्धी विधेयक’बारे समितिको प्रतिवेदन संसदमा पेस गरे। साथै, राष्ट्रिय सभाबाट पारित भएर आएको ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१’ पनि टेबुल गरिएको छ।
त्यसक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल थाल्न प्रस्ताव राखे।
बजेट सैद्धान्तिक छलफलमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत, एमालेका भीम आचार्य, माओवादी केन्द्रका वर्षमान पुन र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे सहभागी भए।
तर, भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए। विरोधकाबीच पनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिएका थिए।

