नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले संसदमा प्रतिपक्षप्रति सम्मानपूर्वक व्यवहार गर्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सामान्य छलफलमा भाग लिँदै पुनले संख्याको आधारमा प्रतिपक्षलाई कमजोर बनाउने सोच त्याग्नुपर्ने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बजेट छलफलमा सहभागी गराउन आवश्यक वातावरण निर्माण गर्न पनि सत्तापक्षलाई अनुरोध गरे।
उनले माओवादीसँग दुई बुँदे सहमति भएको भन्दै त्यसलाई आधार बनाएर अन्य प्रतिपक्षलाई बेवास्ता गर्न नहुने चेतावनी दिएका थिए। पुनले संसदीय अंकगणित समयअनुसार बदलिने हुँदा सत्तापक्ष र सभामुखले दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।
“सभामुखज्यू संसदका अभिभावक हुनुहुन्छ, सत्तापक्ष संयमित र सम्वादमुखी हुनुपर्छ,” पुनले भने, “आज माओवादी सहमत भयो भन्दैमा अरुलाई पेल्नु हुँदैन। कहिले को सत्ता पक्ष, को प्रतिपक्षमा हुन्छ भन्ने बदलिरहन्छ।”
रास्वपालाई संसदमा एक्ल्याउने प्रयास र विगतका घटनालाई प्रतिशोध स्वरूप प्रयोग गरिए गलत हुने उनले औंल्याए। उनले सभामुखलाई सबै दललाई समेटेर संवाद गर्न र बजेटमाथि धारणा राख्ने अवसर सुनिश्चित गर्न आग्रह गरे।
पुनले रास्वपालाई संसदमा नयाँ भएकाले अनुभवी दलहरूसँग सहकार्य गर्दै छलफलमा सहभागी हुन अनुरोध पनि गरे।
गृहमन्त्री रमेश लेखकको राजीनामा मागबारे कुरा गर्दै पुनले आफू र रास्वपाले नैतिकताको आधारमा राजीनामा मागेको स्मरण गराए। तर गृहमन्त्रीले राजीनामा अस्वीकार गर्दै छानबिनको प्रतिबद्धता जनाएपछि दुई बुँदे सहमति भएको बताए।
त्यस्तै, माओवादीमाथि अग्नि सापकोटासम्बन्धी मुद्दामा राजनीतिक लेनदेन भएको आरोप पूर्वाग्रहपूर्ण रहेको भन्दै पुनले त्यसको खण्डन गरे।

