राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति गठन नभएसम्म संसद अवरोध जारी राखिने बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले गृहमन्त्री रमेश लेखकको संसदमा प्रस्तुत शैली आपत्तिजनक रहेको बताए। उनले गृहमन्त्रीले शुक्रबार संसदमा दिएको सम्बोधन धम्कीपूर्ण भएको आरोप लगाए।
शाहीले मानव बेचबिखनसम्बन्धी गम्भीर अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै वर्तमान गृहमन्त्रीसहित अघिल्ला गृहमन्त्रीहरू पनि छानबिनको दायरामा पर्नुपर्ने माग गरे।
उनको भनाइमा, “गृहमन्त्री धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचबिखनको निष्पक्ष अनुसन्धान चाहन्छौं। त्यसका लागि छानबिन समिति अनिवार्य छ। समिति नबन्दासम्म विरोधका कार्यक्रम रोकिन्नन्।”
उनले माओवादी केन्द्रमाथि पनि कटाक्ष गर्दै ‘छेपारो झैँ रंग फेरिएको’ आरोप लगाए। शाहीले माओवादीसँग सहकार्य गरेर संसद सञ्चालनको पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।
उनका अनुसार, गृह मन्त्रालयले छानबिन समिति नबनाएसम्म राप्रपा संसदमा विरोधका कार्यक्रम जारी राख्नेछ।

