प्रतिनिधिसभाको आइतबार बिहान बस्ने भनिएको बैठक आधा घण्टाले सरेर साढे ११ बजे सुरु हुने भएको छ। संसद् सचिवालयले बैठक समय सरेको जानकारी दिएको छ।
आजको बैठकको कार्यसूचीमा राष्ट्रिय सभाबाट प्राप्त “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” टेबुल गर्ने व्यवस्था छ। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेस गर्नेछन्।
उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलको प्रस्ताव सभामुख समक्ष प्रस्तुत गर्नेछन्।
त्यसैगरी, प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले विरोध जनाइरहेका छन्। यी दलहरूले आफ्नो विरोध जारी राख्ने पनि सभामुखसँगको छलफलमा बताएका छन्।
