तीनकुनेमा भएको घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट संकलित सहयोग रकम बुधबार हस्तान्तरण गरिएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतले लिस्बनस्थित सामाजिक अभियन्ता रमेशराज वास्तोलाको संयोजनमा संकलित ८ लाख ४९ हजार ४ सय रुपैयाँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमै पुगेर खत्रीलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण कार्यक्रममा राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायतको उपस्थिति रहेको थियो।
समितिका अनुसार यो सहयोग पोर्चुगलमा रहेका नेपाली नागरिकहरूको सहानुभूति र एकताको प्रतिफलस्वरूप प्रदान गरिएको हो। हाल रेविका खत्रीको शिक्षण अस्पतालमा उपचार जारी छ। समिति र सहयोगीहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्।
