अमेरिकामा उज्यालो भविष्यको सपना बोकेर गएका ३७ जना नेपाली आइतबार मध्यरात चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। कोहीका हातमा बोरा थिए, कोही रित्तै हात। अमेरिका सरकारको अध्यागमन नियम उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको हो।
डिपोर्ट गरिएकामध्ये ३२ जना पुरुष र ५ जना महिला छन्। कोही भिसाको अवधि सकिएपछि पनि बसेका थिए भने, कोही अमेरिका अवैधानिकरूपमा प्रवेश गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पको पालादेखि सुरु भएको कडाइ पछिल्लो समय अझ तीव्र भएको देखिन्छ।
यि नेपाली कुनै अपराधी होइनन्, उनीहरू त केवल जीवन सुधार्ने आशामा घर छाडेका नागरिक हुन्। तर अब उनीहरूको यात्रा फेरि शून्यबाट सुरु हुनेछ। यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ — किन नेपाली नागरिकले आफ्नै देशमा अवसर देख्न सकिरहेका छैनन्?
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र अमेरिका सरकारले १४० नेपालीलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागका अनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली फर्काइएका थिए।
यो प्रवृत्ति नयाँ भने होइन। ट्रम्पको कार्यकालदेखि नै अमेरिकाबाट नेपालीको डिपोर्ट हुने क्रम जारी छ। सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना नेपाली स्वदेश फर्काइएका थिए।
अवस्था फेरिएन भने, भविष्यमा पनि “सपना बोकेर गएका, बोरा बोकेर फर्किएका” कथाहरू फेरि–फेरि दोहोरिँदै जानेछन्।
