आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दिनको सुरुवातमा करिब ६६ अंकले उकालो लागेको भए पनि अन्तिम समयसम्म आइपुग्दा २.९७ अंकले घटेर २६७७ विन्दुमा थामिएको छ।
कुल कारोबार रकम ७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। बजारमा ९२ कम्पनीका सेयरमूल्यमा वृद्धि हुँदा १५५ कम्पनीका मूल्य घटेका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक मौद्रिक नीतिमा शेयर बजारसम्बन्धी नीति केही सहज बनाइएको थियो। त्यसकै असरस्वरूप बजारको सुरुवातमा उकालो लागेको भए पनि पछि बिक्रेताको चापले परिसूचक ओरालो लागेको देखिन्छ।
बजार समग्रमा घटे पनि बैंकिङ लगायतका केही समूहका सूचकहरू हरियालीमा देखिए। तर होटल र माइक्रोफाइनान्स समूहको सूचकमा गिरावट आएको छ।
आज ओम मेगाश्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त र बाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ।
राधी जलविद्युत् कम्पनी सर्वाधिक कारोबार भएको सेयर बनेको छ। कारोबार संख्या र सेयर कारोबारको आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ।
