प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको बजेटमा एमालेको असन्तुष्टि किन ?

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ल्याउने घोषणा गर्‍यो । १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा उल्लेख रहेको यो कार्यक्रम पढ्दा संघीय संसद्‌मा हाँसो फैलिएको थियो ।

ads

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर हेरे । किनकि उनीमाथि छोरी मोहको आरोप लाग्ने गरेको छ । एउटी छोरी रेणु दाहाल दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयर छिन् भने अर्की छोरी गंगा दाहाल स्वकीय सचिवका रूपमा कार्यरत छिन् ।
राजनीतिक रूपमा छोरी मोह देखाएको आरोप खेप्दै आएका प्रचण्ड नै प्रधानमन्त्री भएका बेला ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा भएपछि संसद्‌मा हाँसोको फोहोरा छुट्यो । कार्यक्रम घोषणा हुँदा प्रचण्ड स्वयम् पनि हाँसे ।

तर जब १५ जेठमा बजेट आयो, यो कार्यक्रमका लागि छुट्याएको बजेट कम भएको भन्दै प्रधानमन्त्रीको दल माओवादी केन्द्रभन्दा बढी एमालेको असन्तुष्टि सुनियो ।
संसद्‌मा आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफलका क्रममा एमाले सांसदहरूले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को बजेट निकै थोरै भएको टिप्पणी गरे ।

एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको प्रशंसा गरे तर बजेट अपुग भएको धारणा राखे ।

ads

‘आधा आकाशलाई सक्षम बनाउने कार्यक्रम ल्याउनुभयो, राम्रो छ । तर १० करोड रुपैयाँले कसरी कार्यक्रम चल्छ,’ उनले प्रश्न गरे, ‘सुन्दा मिठो कार्यक्रम भए पनि व्यवहारमा उपेक्षा गरियो । प्रधानमन्त्रीज्यू पनि खुसी नै हुनुहुन्छ होला यो कार्यक्रमलाई लिएर । तर पैसा पुगेन के पैसा पुगेन ।’

एमालेकै सांसद ईश्वरी घर्तीले पनि आइतबारकै प्रतिनिधि सभा बैठकमा कार्यक्रमको प्रशंसा गरिन् र बजेट अपुग भएको बताइन् ।

‘कार्यक्रम अत्यन्तै राम्रो छ, कार्यान्वयन गर्न सकिने खालको छ । तर १० करोड रुपैयाँ ७७ जिल्लामा बाँडिदा एक जिल्लामा जम्मा १२ लाख ९८ हजार पर्छ’, उनले भनिन्, ‘यसले महिला तथा बालबालिका मन्त्रालयको मात्रै नभएर नाम जोडिएका कारण प्रधानमन्त्रीको पनि अपमान भएको छ । अर्थमन्त्रीज्यू यसमा बजेट थपौं ।’

किन असन्तुष्ट छ एमाले ?

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को उद्देश्य छोरीलाई शिक्षा र सीप प्रदान गर्ने तथा उद्यमशीलता विकास गर्ने छ ।

प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने यो कार्यक्रम महिला तथा बालबालिका मन्त्री भगवती चौधरीले प्रस्ताव गरेकी थिइन् । उनले प्रस्ताव गर्दा यसको नाम ‘छोरी आत्मनिर्भर कार्यक्रम’ थियो । यसका लागि महिला मन्त्रालयले १६ अर्ब रुपैयाँ बजेट माग गरेको थियो ।

यति ठूलो रकम माग गरेर नयाँ कार्यक्रम आएपछि अर्थ मन्त्रालयले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गरायो । उनले कार्यक्रमको नाम अगाडि प्रधानमन्त्री थप्न लगाए, अनि पहिलो पटक आएको कार्यक्रम भएकाले धेरै बजेट नराख्न अर्थमन्त्री र बजेट निर्माणमा संलग्न टिमलाई भने ।

बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालय एक उच्च अधिकारीले भने, ‘कार्यक्रमसहित १६ अर्ब बजेट माग गरेर महिला मन्त्रालयबाट आएको थियो । यसलाई अर्थमन्त्रीको आग्रहमा थोरै परिमार्जन गरेर ल्याइएको हो ।’

मन्त्री चौधरीलाई भने प्रधानमन्त्री नाम जोडेपछि राम्रै बजेट आउँछ भन्ने लागेको थियो । यसका लागि उनले पटकपटक अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट पनि गरेकी थिइन् ।

मन्त्री चौधरीलाई बजेट भाषणका क्रममा अर्थमन्त्री पुनले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड विनियोजन गरेको बताएपछि चित्त बुझेन । उनकै शब्दमा भन्दा ग्लानी नै महसुस भयो ।

मन्त्री चौधरीका अनुसार विशेषगरी पिछडिएका समुदाय, दलित, दुर्गम क्षेत्रका छोरीको सर्वाङ्गीण विकासका लागि यो कार्यक्रम प्रस्ताव गरिएको थियो ।

‘कार्यक्रम बनाउन मात्रै प्रस्ताव गरिएको थिएन । पछाडि परेका छोरीहरूको समग्र वृत्ति विकासमा सघाउन ल्याइएको थियो’, उनी भन्छिन्, ‘तर अहिले पाइलटिङ मात्रै गरौं भनेर अर्थमन्त्रीले अपेक्षित बजेट दिन चाहनुभएन ।’

अन्य थुप्रै कार्यक्रममा पनि एमालेले सत्ता साझेदार भएको महसुस गर्न नपाएको चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘सरकारमै रहेको र बलियो सत्ताघटक भएका कारण धेरै बोल्ने ठाउँ छैन । तर हामीले चाहेका धेरै कार्यक्रम परेका छैनन् ।’

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *