


२३ कात्तिक, काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई साथै लिएर हिँडेको बताएका हुन्।

‘मुख्यमन्त्री ज्यु पहिले तपाईं प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक बुरुक गर्नुहुन्थ्यो। अहिले हाम्रो(एमाले) सहयोगमा मुख्यमन्त्री बनेपछि केन्द्रबाटै संचालित हुन थाल्नुभयो। त्यही भएर एमालेलाई खोलो तरेपछि लौरो बिर्सेजस्तो गर्नुभयो। अब एमालेलाई के गर्नुहुन्छ?,’ राजभण्डारीले मुख्यमन्त्री कार्कीलाई सोधेका थिए।
जवाफमा मुख्यमन्त्री कार्कीले आफूले एमालेलाई सरकारबाट निकालेको नभई उसले नै आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाएको बताए।
‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ। सरकारबाट एमालेका मन्त्रीज्युलाई मैले निकालेको होइन। उहाँहरू आफैले राजीनामा दिनुभएको हो। मैले लौरो बिर्सेको छैन। बरु लौरो आफैं आवेशमा, इमोसनमा आएर निस्कनु भयो। म एमालेलाई साथै लिएर हिंड्न प्रतिबद्ध छु,’ मुख्यमन्त्री कार्कीले भने।

प्रतिकृया दिनुहोस्