
९ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार सञ्चालनको लागि अनुमती दिएको छ ।
बोर्डको जेठ आठ गते सोमबार बसेको सञ्चालन समितीको बैठकले आवेदन माग गरेका ४५ मध्ये पहिलो चरणमा प्रकृया पुरा गरेका सात वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लाईसेन्स दिएको हो ।
लाईसेन्स पाउने कम्पनीहरुमा श्री भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, श्री क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि नक्साल, मियो सेक्युरिटिज प्रालि हात्तिसार, श्री शेयरप्रो सेक्युरिटिज प्रालि ढल्कु र श्री प्रोर्पर्टी विर्जाड लिमिटेड नागपोखरी काठमाडौं रहेका छन् । बोर्डले २०७९ असोज दुई गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही माग बमोजिम ब्रोकर कम्पनीको लागि ४५ कम्पनीको आवेदन परेको थियो । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी एक अर्ब ५० करोड तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ अनुसार लाइसेन्सका लागि आवेदन माग गरेको ३५ दिनभित्र एलओआई दिनुपर्ने व्यवस्था रहेको र सोही अनुसार सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले प्रक्रिया रोकेको अवधि बाहेक ३५ कार्यदिनभित्र नै लाइसेन्स पाउने नपाउन एकिन गर्नेगरी प्रक्रिया अगाडि बढाएको थियो ।
प्रतिकृया दिनुहोस्