राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा वरिष्ठ अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी भित्रका महत्त्वपूर्ण रिक्त पदहरू शीघ्र पूर्ति गर्न आग्रह गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि सभापति रवि लामिछाने केही समय पार्टी नेतृत्वबाट अलग रहनुपर्ने अवस्था सिर्जना हुन सक्ने आँकलन गर्दै, उनले पार्टी सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले रिक्त पदहरू भर्न आवश्यक रहेको औंल्याएका छन्।
न्यौपानेले कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा सुझाव पत्र पठाउँदै, रिक्त रहेको महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको पद पूर्तिका लागि पहल लिन अनुरोध गरेका छन्। उनका अनुसार, महाधिवेशन नहुञ्जेलसम्म पार्टी सञ्चालन सुचारु राख्न यी पदहरू भर्नु अपरिहार्य छ।
त्यसैगरी, उनले संसदीय दलको नेता छिट्टै चयन गर्न, पार्टीका सबै विभाग तथा समितिहरूलाई पूर्णता दिन, शुभेच्छुक संगठनहरू गठन गरी ती संस्थाहरूलाई स्वायत्त रूपमा सञ्चालन गर्नुपर्ने विषय पनि उठाएका छन्। उनले २०७९ सालको प्रतिनिधिसभा चुनावमा सहभागी उम्मेदवारहरूलाई प्राथमिकताका साथ जिम्मेवारी दिनुपर्ने समेत उल्लेख गरेका छन्।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था स्थापनार्थ सडक र सदन दुवै माध्यमबाट संघर्ष प्रारम्भ गर्नुपर्ने प्रस्ताव पनि न्यौपानेले अघि सारेका छन्।
स्मरणीय छ, यज्ञमणि न्यौपाने यसअघि पार्टीको अनुशासन आयोगमा कार्यवाहक प्रमुखको भूमिकामा थिए। आगामी महाधिवेशनमा महामन्त्री पदप्रति आकांक्षा राख्दै उनले उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए।
हाल रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा उपसभापति डीपी अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिरहेका छन् भने उपसभापति पद रिक्त छ। त्यस्तै, मुकुल ढकालको राजीनापछि महामन्त्रीको पद खाली छ, र सहमहामन्त्री सुमना श्रेष्ठले पनि पदत्याग गरेपछि उक्त पदसमेत रिक्त भएको छ।

