विराटनगरको मानगढ खानेपानी आयोजना अन्तर्गत सञ्चालित खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि आज पुनः मतदान भइरहेको छ। बिहान सवा ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। बिहान ११:१५ बजेसम्ममा जम्मा १,४५६ जना मतदाताले आफ्नो मत खसालिसकेका छन्।
कुल ५,९९८ जना मतदाता रहेको यस निर्वाचनमा तीन वटा फरक प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। उम्मेदवारहरूमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईं नेतृत्वको प्यानल छन्। भट्टराई र घिमिरे नेकपा (एमाले) सम्बद्ध उम्मेदवार हुन् भने चापागाईं नेपाली कांग्रेस निकट उम्मेदवार हुन्। भट्टराईलाई एमाले नेता विनोद ढकाल समूहले समर्थन गरेको छ।
यसअघि २०८१ सालको जेठ १९ गते भएको निर्वाचन विवादास्पद बनेपछि दुई फरक समूहले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए। दिव्यराज कट्टेलसहित तीन जनाले पहिले खसेको मतको गणना हुनुपर्ने माग राख्दै रिट हालेका थिए भने टंकप्रसाद खतिवडासहित अर्को समूहले पुनः मतदानको माग गर्दै अदालत पुगेका थिए।
सो मुद्दामा गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मतदान प्रक्रिया दोहोर्याउन आदेश दिएको थियो। अदालतको निर्णय अनुसार उम्मेदवार र मतदाता पुरानै राखिने तर मतदान मात्र नयाँसिरेले गरिने व्यवस्था गरिएको हो।
पुनः मतदान विराटनगर महानगरपालिका–१ स्थित पुष्पलाल चोकको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता क्याम्पसमा भइरहेको छ। मतदान शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ।

